नियम
कार्यालयको काम, कर्तव्य र अधिकार

(१) क्षेत्रीय निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) आफ्नो क्षेत्रभित्रका जिल्ला निर्वाचन कार्यालयहरू बीच समन्वय कायम गर्ने वा गराउने,

(ख) क्षेत्रीय निर्वाचन कार्यालय रहेको जिल्लाको हकमा जिल्ला निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकारको समेत प्रयोग गर्ने ।

(२) जिल्ला निर्वाचन कार्यालयको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–

(क) मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने वा गराउने,

(ख) मतदाता नामावलीको अभिलेख सुरक्षित र सुव्यवस्थित तरिकाले राख्ने,

(ग) मतदाता परिचयपत्र तयार गर्ने सन्दर्भमा आयोगले तोकेका कार्य गर्ने वा गराउने,

(घ) निर्वाचन सामग्रीको अद्यावधिक अभिलेख तयार गर्ने र त्यस्ता सामग्रीको भण्डारण तथा मर्मत सम्भारको उचित व्यवस्था गरी सुरक्षित रुपमा राख्ने,

(ङ) आयोग र क्षेत्रीय निर्वाचन कार्यालयले तोके बमोजिम निर्वाचन तथा मतदाता शिक्षा, निर्वाचन सम्बन्धी गोष्ठी, प्रशिक्षण, सूचना तथा सन्देश प्रचार–प्रसारको व्यवस्था मिलाउने,

(च) आयोगबाट जारी भएका निर्वाचन आचार संहिता कार्यान्वयनको उचित व्यवस्था मिलाउने,

(छ) निर्वाचन प्रयोजनको लागि जिल्लाभित्र रहेका नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कर्मचारी, नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्वमा वा नेपाल सरकारको अनुदानमा सञ्चालित संस्थाका कर्मचारी तथा विश्वविद्यालय र सामुदायिक विद्यालयका शिक्षक वा कर्मचारीहरूको लगत अद्यावधिक गर्ने,

(ज) निर्वाचनको लागि मतदान स्थल, मतदान केन्द्र तथा उपकेन्द्र कायम गर्ने सम्बन्धमा अध्ययन गरी आयोग समक्ष सिफारिस गर्ने,

(झ) जिल्लास्थित मतदान स्थल, मतदान केन्द्र तथा उपकेन्द्रको विवरण भू–सूचना प्रणालीमा राख्नको लागि विवरण सङ्कलन तथा अद्यावधिक गर्ने,

(ञ) आयोगबाट स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने,

(ट) निर्वाचन सम्बन्धी कार्यक्रमहरूको अनुगमन एवं मूल्याङ्कन गरी सोको प्रतिवेदन आयोगमा पठाउने,

(ठ) निर्वाचन अधिकृतलाई आवश्यक सहयोग गर्ने,

(ड) मतदान केन्द्रको लागि आवश्यक पर्ने सामग्री मतदान अधिकृतलाई बुझाउने र कार्य समाप्त भएपछि फिर्ता लिने व्यवस्था मिलाउने,

(ढ) आयोग र क्षेत्रीय निर्वाचन कार्यालयबाट समय–समयमा निर्देशन भए बमोजिमका कार्यहरू गर्ने ।